जितु नेपाल र दमन रुपाखेतीको पुरानो जोडीको पुनर्मिलन भएपछि यसवर्ष एउटै मञ्चमा गाईजात्रा महोत्सव गर्न कलाकारहरु सफल भएका हुन् । पोहोर, परार दिपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल एकातिर हुँदा दमन रुपाखेतीको समूह अर्कोतिर हुन्थे । तर १० वर्षपछि जितु र दमनले जोडी भएर काम थालेका छन् । ‘उहाँहरु मिलेपछि बलियो प्रतिपक्षी देखिएनन्’ कलाकार पोखरेलले भन्नुभयो ।
जितु र दमनको जोडी देखिएपनि यसपालीको गाईजात्रामा अर्को जोडी केदार घिमिरे माग्ने बुढा र सिताराम कट्टेल धुर्मुसको जोडीलाई भने देखिंदैन । घिमिरे बिरामी छन् भने कट्टेल भूकम्प पीडितको घर बनाउने काममा व्यस्त छन् ।
यसपाली पनि कलाकारहरुले समसामयिक राजनीतिक तथा सामाजिक घटनाक्रमलाई व्यंग्य गर्दै गाईजात्रे मसला पस्केका छन् । दिपकराज गिरीको समूहले नक्कली डाक्टर अख्तियारको हस्तक्षेप, जितु र दमनले मापसे चेकिङ, शिवहरि पौडेल र किरण केसीले चीन र भारतसँगको सम्बन्धलाई आफ्नो प्रस्तुतिको विषय बनाएका छन् ।
अर्का लोकप्रिय कलाकार मनोज गजुरेलले अख्तियार प्रमुख लोकमान सिंह कार्कीको अटेरीपन र निरीह सभासदलाई व्यंग्य गरेका छन् । कार्यक्रम सञ्चालक समेत रहेका कलाकार राजा राजेन्द्र पोखरेलले नेताहरुलाई हाँस्यव्यंग्य सिरियल खेल्न आग्रह गरेका छन् ।
कलाकारहरुले खेलेको सिरियल टेलिभिजनमा नचलेपछि उनले नेताहरुलाई सिरियल खेल्न आग्रह गरेका हुन् । प्रज्ञा भवनको गाईजात्रा १८ गतेसम्म चल्नेछ ।

Post a Comment