भाद्र १, २०७३- कप्तान पारस खड्काले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको शीर्ष चारभित्र रहने मौका अझै बलियो रहेको बताएका छन् । नेदरल्यान्ड्सविरुद्व दोस्रो खेलमा सोमबार आमस्ट्रडममा म्यान अफ द म्याच प्रदर्शन गर्दै नेपाललाई १९ रनको विजय दिलाएपछि पारसले नेपाल शीर्षस्थ टोलीको लयमै रहेको बताएका हुन् ।
भीआरए मैदानमा टस हारेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय १७ रन बनाएको थियो । पारसले नेतृत्वको उत्कृष्ट उदाहरण दिँदै ८४ रन बनाई नेपाललाई मजबुत स्थितिमा पुर्याएका थिए । जवाफमा आएको नेदरल्यान्ड्सलाई ४८.३ ओभरमा १ सय ९८ रनमा रोकी नेपालले एकदिवसीयमा एउटा उत्कृष्ट विजय हात पारेको हो ।
२०१५ देखि सुरु भई २०१७ सम्म चल्ने च्याम्पियनसिपमा नेदरल्यान्ड्सलाई पराजित गर्ने नेपाल पहिलो टोली हो । शनिबार पहिलो खेलमा नेपाललाई सजिलै ७ विकेटले पराजित गरेको नेदरल्यान्ड्स ८ खेलमा १२ अंक जोडी शीर्ष स्थानमा छ । नेपाल ६ अंकसहित ८ राष्ट्र सहभागी प्रतियोगितामा छैटौं स्थानमा छ । शीर्ष चार टोलीले २०१८ मा हुने एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछन ।
‘पहिलो खेलमा हामी जसरी कमजोर बनेका थियौं, त्यसअनुरूप नेपालले सानदार पुनरागमन गरेको छ, एउटा टिमका रूपमा हामीले राम्रो खेल्यौं । चाहिएको बेलामा सबैले राम्रो खेले,’ पारसले भने, ‘नेदरल्यान्ड्सजस्तो टोलीलाई हराउन सजिलो छैन, तर हामीले जहिल्यै राम्रो ब्याटिङ गर्दा जितेका छौं । आज पनि ब्याटिङ राम्रो गरेर जितेका हौं ।’
च्याम्पियनसिपमा नेपालले पछिल्लोपटक नामिबियालाई दुवै खेलमा पराजित गरेको थियो । पछिल्लो खेलमा नेपालले विजय हात पार्दा शतक बनाएका पारसले भने, ‘च्याम्पियनसिपमा अझै तीन चरणको खेल बाँकी छ । हामी ती खेलहरूका लागि तयार भएर बस्नुपर्छ । सम्भवत: हामीले अर्को खेल केन्यासँग ६ महिनापछि खेल्नुपर्छ होला घरेलु मैदानमा । नेपाली क्रिकेटको अहिलेको अवस्थामा खेल कहाँ हुने निश्चत छैन ।’
पारसले आफू नेपाल शीर्ष चारभित्र पर्नेमा सकारात्मक रहेको बताए । ‘नेपाली टिमसँग क्षमता छ, तर त्यो क्षमतालाई प्रदर्शन गर्न सकेन भने केही हुँदैन । यो डिभिजन ३, ४, ५ जस्तो प्रतियोगिता होइन, एउटै खेलाडीले खेलेर जित्ने । सबै खेलाडीले उस्तै प्रदर्शन दिन सक्नुपर्छ । अबको बाँकी समय त्यही क्षमतालाई उजगार गर्नु हुनेछ । त्यसो भएमा हामी आगामी खेलहरू जितेर शीर्ष चारमा पुग्नेछौं ।’
९४ बलको इनिङ्समा पारसले ७ चौका र एक छक्का प्रहार गरे । उनले सागर पुनसँग चौथो विकेटमा १ सय १८ रनको महत्त्वपूर्ण साझेदारी गरे । ब्याटबाट खासै योगदान दिन नसक्दै आएका सागरले ७८ बल खेली २ चौकासहित ४५ रन बनाए । यसअघि ज्ञानेन्द्र मल्ल ३९ रनमा आउट भएका थिए भने कप्तान विनोद भण्डारीले २ छक्कासहित १४ बलमा १७ रन बनाए ।
पारस मैदानमा छाउने क्रममा जारी रहेपछि स्टेफन मेबर्ग ८, माइकल रिपोन ७ र वेस्ली बारेसी ६ रनमा पवेलियन फर्किसकेका थिए । मेबर्ग एज लागि पारसको बलमा विकेटकिपर राजु रिजालको हातबाट राम्रो क्याच आउट भए । पारसले दोस्रो स्लिपमा दर्शनीय क्याच लिएपछि सोमपाल कामीले रिपनलाई पवेलियन फर्काए । म्याक्स ओडोओड र रोइलोफ भान डेर मेर्वेले केही ढिलो खेले पनि चौथो विकेटमा ८२ रनको साझेदारी गरी नेदरल्यान्ड्सलाई खेलमा फर्काएका थिए । भान डेर मेर्वेले ५६ रन बनाए । भान डेर मेर्वेले ६१ बलको इनिङ्समा ४ चौका र १ छक्का प्रहार गरेपछि सोमपाल लामिछानेको बलमा राउन्ड द लेग बोल्ड भए ।
४४ रन बनाएका ओडोउडलाई शक्ति गौचनले वाइड बलमा स्टम्प आउट गराए । टिम ग्रुइजटर्स र टिम भान डेर गुगटेनले क्रमश: ४४ र ३६ रन बनाई नेपालको हातबाट लाने प्रयास गरे पनि वसन्त रेग्मी र सोमपालको अनुभवी बलिङले नेपालले स्मरणीय विजय हात पार्यो ।
प्रशिक्षक जगत टमाटाले पहिलो खेलको सबै कमजोरीलाई बिर्सेर नयाँ रणनीतिअनुसार खेलेको र त्यसमा नेपाल सफल भएर विजय हात पारेको बताए । ‘ब्याटिङमा हामी सुरुआतमा टिकेर खेल्ने भन्ने थियो, १० ओभरसम्म कुनै विकेट नगुमाउने रणनीति थियो, १ सय ८० रनभन्दा माथि बनाएमा खेल जित्न सकिन्छ भन्ने थियो,’ टमाटाले भने, ‘जुन हिसाबमा विकेटमा टर्न भइरहेको थियो, हामीले स्पिनरको सहयोगमा खेल जित्छौं भन्ने थियो । तर सम्रगमा भन्नुपर्दा हामीले सबै क्षेत्रमा राम्रो गरेर खेल जितेका हौं ।’
@ekntipur

Post a Comment